Monday, December 27, 2010

कोलोराडो साहित्य संगम, २०१० डिसेम्बर अंक

अन्तराष्ट्रिय नेपाली साहित्य समाज(अनेसास), कोलोराडो चाप्टरद्वारा संचालन गरिदै आइएको कवि गोष्ठीलाई निरन्तरता दिने क्रममा श्री शैलेश पोख्रेल तथा नम्रता अधिकारीको आतिथ्यमा संपन्न गरिएको 'कोलोराडो साहित्यिक संगम'को २०१० डिसेम्बर अंकमा वाचन गरिएका रचनाहरु:

" पुन : जन्म "       
आचार्य प्रभा, डेन्भर, कोलोराडो,
(भिडियो कन्फरेन्सबाट वाचित कविता)

मृत्‍युले पनि तिरष्कार गरेर
फर्केको मान्छे म ,
अब कसरी अनी कुन दुनियामा
अटाउन सकुँला ?
मृत्‍यु र जीवनसँग
संघर्ष गर्दै बितेछन हरेक पल,
आखिर जीत जीवनकै भएछ
शायद... अझै मैले भोग्नु पर्नेछ
यो सांसारिक दुनियाँका जाल झेलहरु
त्यसैले त.... मृत्‍युले पनि
तिरष्क्रित गरि पठायो
आफ्नै भौतिक दुनियाँमा
र,
म फेरि फर्किएँ
आफ्नै रंगमन्चमा मान्छेरुपी
पात्रको अभिनय गर्न
परेन मैले चाँडै जीवन
तिलान्जली दिइ मर्न

(जत्तिबेला बेला म मृत्‍युलाई जितेर १४ घण्टाको कोमामा गएर फेरि १२ /१३ दिन बेहोस् अवस्थामा रही फर्किएँ र म अस्पतालबाट डिस्चार्ज हुने बेलामा जतिबेला म उभिन सक्षम पनि नभएकोबेलामा पनि मलाइ यी भावनाहरु फुरे । यही नयाँ जन्मको उपहार म साथिहरुलाई बाँड्न उद्वेलित छु।)


नेपाल
प्रमिला शर्मा, बाउल्डर, कोलोराडो

आज कसले नेपाल नसम्झेर दिन बिताएको छ साथी?
हिजो कसले नेपाल नसम्झेर निदाएको थियो साथी?

सबै नेपालीले देशको सुखद समाचारको तडप बोकेका छन् साथी
सबै नेपालीले मनभित्र नेपाललाई बोकेर हिंडेका छन् साथी

यहाँको रकी माउन्टेनले नेपालको हिमश्रिंखलालाई सम्झाइदिन्छ साथी
सगरमाथा महाभारत र चुरे पहाडको झझल्को दिइरहन्छ साथी

शायद त्यसैले होला?
यहाँ बस्ने सबैले दुईलाइन नेपालको मायाबारे कोरेकै हुन्छ
आ-आफ्ना घरमा देशको कला संस्कृति साहित्य सजाएकै हुन्छ

कतै न कतै मेरो प्यारो जन्मभूमी काठएकै हुन्छ
आफू हुर्केको ठाँउको सुगन्ध घरमा छरेकै हुन्छ

कसै कसैले कापिमा नलेखे पनि
छातीभरी प्यारो नेपाल लेखिरहेको हुन्छ
छातीभरी प्यारो नेपाल लेखिरहेको हुन्छ
   
जव मलाई रक्सी लाग्छ 
श्याम नेपाल, कोलोराडो

जव मलाई रक्सी लाग्छ-२
फलामलाई कुटेर चिउरा बनाई
कर्‍याम कर्‍याम चबाइदिउँ चबाइदिउँ जस्तो लाग्छ
जव मलाई रक्सी लाग्छ

जव मलाई रक्सी लाग्छ
पहाडलाई फोडेर डल्ला बनाई
जमिनमा मिलाइदिउँ मिलाइदिउँ जस्तो लाग्छ
जव मलाई रक्सी लाग्छ

जव मलाई रक्सी लाग्छ
सारा दुनियाँलाई चङ्गा बनाई
आकाशमा उडाइदिउँ उडाइदिउँ जस्तो लाग्छ
जव मलाई रक्सी लाग्छ

जव मलाई रक्सी लाग्छ
दुस्साहस र घमण्डले चुर भई
आफू आफैलाई नै सर्वशक्तिमान बनाइदिउँ बनाइदिँउ जस्तो लाग्छ
जव मलाई रक्सी लाग्छ  
     
शान्ती 
दिपक शर्मा बजगाई, कोलोराडो

गोला बारुदले शान्ती ल्याउने भए
एटोमिक बम नै पड्काइ दिन्थे
कुर्सी मेचले सबैको भलो हुने भए
सिंहासन नै तयार पारी दिन्थें
मिथ्या भाषणले शान्ती आउने भए
म यो संसार नै बदलिदिन्थे।


म अनन्त यात्रामा दौडिरहेको मानिस 
दिपक शर्मा बजगाई, कोलोराडो

रातो पोतिएको त्यो बिशाल आकाश तल
अस्ताइरहेको सूर्य सामु
नविनतमको निरन्तर खोजी.....
एउटा मिठो सपना
अनि त्यो सपनाको निम्ति एउटा मिठो संघर्ष.....
म अनन्त यात्रामा दौडिरहेको मानिस

विचित्रको संसार 
सरला मिश्र, कोलोराडो

कस्तो हो यो संसार चारैतिर झिलिमिली पो रहेछ
तर बुझ्दै जाँदा यो पनि भित्र भित्रै खोक्रिदै पो रहेछ।

कस्ता ठूला सफा बाटा देख्दै रमाइलो लाग्दो रहेछ
तर बुझेर ल्याउँदा खेरि एक्सिडेन्ट (मृत्‍यु) बढ्दो पो रहेछ।

कस्तो विचित्रको जिन्दगी मेसिन जस्तो चल्दो पो रहेछ
तर चेक पाएको दुई दिन पछि पकेट रित्तिदो पो रहेछ।

धर्म कर्म कहाँ गयो? पैसाको पछि मात्र दौडिदो रहेछ
मरेर गए पछि पनि दुई टुक्रा काठ पनि मिल्दो रहेनछ।

क्रिसमस 
अन्जनी प्याकुरेल, ब्रुमफिल्ड, कोलोराडो

जताततै क्रिसमसको रमझमले मन हर्षित बनायो।
झलमल्ल बिजुलिबत्तिहरु देख्दा,
वाल्यकाल र तिहारको सम्झना गरायो
कति रमाइलो बातावरण (२)

उस्तै छ, संसार केही फरक छैन
आकाश उस्तै, पहाड उस्तै
सूर्य त पूर्वबाट नै उदायो,
केवल मन र बुद्दी फरक फरक रहेछ मान्छेहरुको
घाम पश्चिमबाटै अस्तायो।

धर्म संस्कृति फरक फरक हुन्छ
यो सबै मान्छेले नै बनायो
भौतिक सुविधा-सम्पन्न यो देश पनि त
मान्छेले नै बनायो।

फेरि किन मन विचलित छ?
केही अपुरो जस्तो...
केही अधुरो जस्तो...

यस्तै रहेछ यहाँ..... भाग्दैछ जिन्दगानी
मुस्कान छ ओठमा, आँखामा पानी
सबैको आ-आफ्नै (कथा र काहानी)-२

'दुइजिया' 
विजयराज शर्मा, बाउल्डर, कोलोराडो

भारी जीउँ छ, चुरोट धोक्छे
गैरजिम्मेवार रहिछे।
कुन्नि पिउँछे पनि कि?
कसले टोकोस् उसलाई?

मेरो मनमा चसक्क पस्यो
भुँडीभित्र हुर्किरहेको बालकले
के उसको अन्तर्आत्माको आवाज बनेर
आमालाई सोध्छ होला?

'आमा! किन धुम्रपान गर्छौ?
नजन्मदै किन मलाई सराप्छौ?'

के त्यो बालक बिन्ती गर्छ होला?

'म सद्दे जन्मे भने आमा तिम्रो सेवा गर्नेछु
मलाई मौका देऊ आमा।'

त्यो महिला बोल्डर जाँदैरहिछ।
बोल्डर जस्तै मुटु रहेछ।
साथै संगिनी पनि थिई
ऊ पनि दुइजिया
ऊ पनि धुवाँमा रमाउँदै।
म पनि त्यस स्थानबाट हिंडे रुमलिंदै।


'कविता कस्तो होस्?' 
विजयराज शर्मा, बाउल्डर, कोलोराडो

एउटा कोठा छ, कोठामा पुतलीहरु छन्
एउटा कापी छ, कापिमा शब्दहरु छन्।
बालक खेल्छ पुतालीसँग, म खेल्छु शब्दसँग
कोठाभरी पुतलीहरु लथालिङ छरिन्छन्
मेरो कापीभरी शब्दहरु असरल्ल भरिन्छन्।

के यस्तै हुन्छ कविता?

पल्टाएँ केही नेपाली कविका कविता
गुगल गरें केही अङ्रेजी कविका कविता
के बुझें यही बिषयमा लेख्दैछु आजको कविता

कविता झरना जस्तै बुग्नुपर्छ
उसले कविको आत्मा बोल्नुपर्छ
कविता रहेछ शिल्प, कवि शिल्पकार
कविता रहेछ चित्र, कवि चित्रकार
कसैले नखिंचेको कोणबाट खिंचिएको फोटो
पाठकले अपरिचित सुन्दरी भेट्ने मनोरम ठाउँ
कविलाई स्वयं लागिरहने "फेरी पढौ, फेरि सुनाउँ।"

कविता होस त यस्तो होस
भर्खर झरेको हिउँ जस्तो ताजा होस्
भर्खर फक्रेको गुलाब जस्तो मोहक होस्
बिहानीको शीतको थोपा जस्तो चम्किलो होस्

अथवा भनौं,

भर्खरै टोरनेडोले विनाश गरेको छिमेक जस्तो होस्
भर्खरै आँधीले उजाडेर छोडेको बगैँचा जस्तो होस्
बुढीआमाको आँखा अगाडि जवान छोराको मृत्‍युको बज्रपात परे जस्तो होस्

कविता हुनुपर्ने रहेछ एउटा एम्युजमेन्ट राइड
कविले पाठकलाई आफुसँगै चढाओस्
उकालोस् आरोहका चुलीहरुमा
खसालोस् अवरोहका गहराईहरुमा
यस्तो पो होस् कविता
कविले भावको सागरमा पाठकलाई चुर्लुम्म डुबाओस्
यस्तो पो होस् कविता
यस्तो पो होस् कविता
कहिले लेखौंला मैले यस्तो कविता?

मनमै रह्यो 
ज्ञानेन्द्र गदाल, अरोरा, कोलोराडो

शुरु भयो कहाँबाट, अन्त कसो गरी भयो
लेखिसकें चिठी तर, कुरा जति बांकी रह्यो।

नचाहेको पनि होइन, मनले पनि चाहेकै हो
भन्ने आंट कति गरें, मौका पनि पाएकै हो
यो मन खोलि देखाऊँ भन्थें, कसरी हो भित्रै रह्यो
लेखिसकें चिठी तर, कुरा जति बाँकी रह्यो।

पिरतीको भाषा हजुर, बोली त्यसै लर्बराउने
विपनीमा धक लाग्दो, सपनीमा बर्बराउने
बाहिर हाँसो हाँसे पनि भित्रभित्रै जलि रह्यो
लेखिसकें चिठी तर, कुरा जति बाँकी रह्यो।

आत्मीय धून 
ज्ञानेन्द्र गदाल, अरोरा, कोलोराडो

तर्की तर्की नहिंड, घुर्की लगाइ नहिंड
चोखो माया पिरतीको पाप लाग्ला है।

माया धर्म हो, माया कर्म हो
एकार्काको मुटु जोड्ने दिलको मर्म हो
जोगाऊ आफ्नो धर्मलाई,
बचाऊ दिलको मर्मलाई
जथाभावी खेलाँची नगर
चोखो माया पिरतीको पाप लाग्ला है।

दुखमा रोएको मायासंग
सुखमा हांसेको मायासंग
गहिरो आत्मीय धून हुन्छ
दुई आत्माको गुनगुन हुन्छ
धुलो सम्झी उडाउन नखोज
चोखो माया पिरतीको पाप लाग्ला है।     

काठमाडौं......!
 
निर्मल प्याकुरेल, ब्रुमफिल्ड, कोलोराडो

काठमाडौंका मृत्‍यु र मौसम दुबै उस्तै छन्।
यहाँ कालो बादल देखेर
खडेरी दुखी हुँदैन
न आकाश स्वच्छ भएर
भेलको तेज रोकिन्छ।
त्यस्तै मृत्‍युले पनि
रोग पर्खिनुपर्दैन।
काठमाडौं
न रोगको कारण बताउँछ
न बर्षाको आभाष ल्याउँछ
केवल घटना घटाउन जान्दछ

घटनासँगै दुइचार हृदयलाई चिरिदिन्छ।
चाहे परिवर्तनको नाउमा होस्
चाहे आतंकको नाउमा होस्,
चाहे गरिबीको नाउमा होस्
वा
नभए अपराधको नाउमा होस्।
काठ गोदामको काठ चिर्ने मसिनझै कठोर काठमाडौं
काट्न जान्दछ,
जोड्न जान्दैन।
(उपन्यास 'खाडल'बाट)   


कोलोराडोका मेरा कविहरु 
कमल भट्टराई, लेकवुड, कोलोराडो

कोलोराडोका नेपाली मेरा कविहरु
तिमीहरु कोलोराडोबासीबाट धेरै धेरै धन्य छौ
कमसे कम -२
महिनाको एक पटक वल्लो घर र पल्लो घरमा
कोठे कविता वाचन गर्दै त आइरहेका छौ
त्यसैले नै हो
त्यसैले नै हो तिमीहरु धन्य छौ
भनौ, भनौ
अर्को कुरा
अर्को कुरा, भन्न मन नलागी नलागी
अल्छि गर्दै
धेरै विचार नै नगरी
प्वाक्क बोल्न मन लागिरहेको छ
सोच त, तिमी
फेरि एक पटक सोच त तिमी,
तिमी आफू यहाँ कवि छौ, दर्शक छौ, अनि प्रकाशक र पत्रकार पनि छौ
मलाई थाहा छ
तिमी Thank You, र Have a good day बाट
दिक्दार लागेर
नेपाली भाषा उत्थान गर्न कोलोराडोमा केही गर्न खोजी राखेका छौ
तर
तिमीलाई थाहा हुनुपर्छ
तिमी IT को विद्दार्थी हौ, अनि तिमी यहाँ medical डाक्टर पनि हौ,
तिमी भूगोलविद पनि हौ, त्यसरी नै तिमी प्राध्यापक हौ
म देख्दै छु,
म देख्दै छु, तिमी कलम र कापी बिर्सेंर, स्कूल पढ्न गइरहेका छौ
शायद, शायद तिमीलाई थाहा नै होला गन्तव्य कहाँ छ भनेर
किन भने,
किन भने तिमी यहाँ कविता त वाचन गरिराखेका छौ
त्यो पनि तिम्रा नै लागि
यसो सोच त,
तिम्रा भाइबैना, तिम्रा छोरा-नाति, कतै तिमीले छोडी त राखेका छैनौ?
(देख्दिन म)-२ तिनका कोमल कविताका भाव
न त म देख्दछु तिनका नमस्कार र धन्यवाद शब्दका वास
त्यसैले, तिमी एक पटक
शायद सोच्ने छौ,
अव त म मेरा सन्ततिलाई यहाँ ल्याउँछु भनेर
शायद तिनीहरु भोली कविता वाचन गर्छन् होला
अनि नगरे पनि
कवि नवने पनि,
नेपाली भाषाको उत्थानमा एक खुट्किलो पक्कै बनिन्छ होला
यहीनेर छ हौ तिमीले सोच्ने शब्द
अनि मनका भाव, म त म त केवल तिमीलाई शब्द दिन्छु, भाव दिन्छु
तिमी कोट्याउ र केलाउ
मेरो तिमीलाई शुभकामना, आत्मआलोचना र भाइचाराको शुभकामना छ,
त्यसरी नै अङ्रेजको क्रिस्मस परे पनि
आज तिमीलाई
आज तिमीलाई नेपाली भाषीको तर्फबाट
क्रिसमसको पनि शुभकामना छ।
तिमी फल, फूल र नेपाली भाषाको उत्थान गर।
तिमीलाई मेरो शुभकामना छ।                          


मुक्तक
नम्रता अधिकारी, अरोरा, कोलोराडो   

नलगाउ कसैमाथि झुटो आरोप
त्यो कलंकले उसको मन जल्नेछ।
बोकी हिंड सदा सत्य साथमा
तिम्रो आत्मा सधैं खुशी हुनेछ।
झुठ त्यो दलदल हो साथी
जसमा तिमी आँफै फस्ने छौ।
सत्य त्यो पहाड हो
हिंड्न कठिन हुन्छ
तर तिम्रो इमान अटल हुन्छ। 

छायाँ 
मिना पौडेल, कोलोराडो

दिन बित्यो महिना बित्यो
साल पनि बितिसकेछ

आफूलाई त पत्तै भएन
उसले आफूलाई छोडिसकेछ

रुन लागिसकेछन् आफन्तहरु
अनि पाखा भञ्ज्याङ उकाली सबै
आफूलाई......

अँध्यारो कोठा भित्र आफू रुमल्ली रहें
छटपटाउँदै पानी बिनाको माछा झैं
आफूलाई......

निस्किएर आफू बाहिर पुग्दा
निभिसकेछ चिता पनि उनको
आफूलाई......

लिन खोज्दा खरानी चिताको
अघि नै हावाले उडाइसकेछ
आफूलाई......

पखाल्न खोजें चितालाई उनको
खोला उर्लिएर पखालिसकेछ
आफूलाई......

रुन पनि सकिन छु शायद म
आँखाको आँशु पनि सुकिसकेछ
आफूलाई......

पछ्याउँदा पछ्याउँदै मायालाई
म त धेरै टाढा पुगिसकेछु
आफूलाई......

कति पछ्याउनु छायाँलाई
अब त आफ्नै छायाँसित डराइरहिछु
आफूलाई...... 

मेलमिलाप 
मिना पौडेल, कोलोराडो

जन्मन्छौ यही माटोमा मर्छौ पनि यही माटोमा हामी
भाग्यले साथ दिए फेरि फर्केर आउँछौ यही माटोमा

जन्मिनु र मर्नु छदैछ मिलेर बसुँ सबै यही माटोमा
मेलमिलापको बिउहरु प्रेमको पसिनाले सिचूँ

फर्केर आउँदा हलहलाइ रहोस हाम्रो प्रेमको फूलबारी
सयपत्री फूल हाँसे झै हाँसीरहुन् हाम्रो माटोको फूल

तोरीको फूल झुले झै झुलिरहुन् समतलका सुर्यमुखीहरु
गीत गाइरहुँ हामी प्रेमको नाँचिरहुन् भ्रमरा पुतलीहरु

प्रेमको अंमृत छरिदिउँ हामी छताछुल्ल जताततै
खोला झै बगिरहुँ सधैं प्रेमको सागरमा डुबिरहूँ सधैं

न आवोस् कहिले त र म को भावना यो हृदयमा हाम्रो
पन्छाइदिउँ त र म भन्ने दुष्ट र दुष्क्रित भावनालाई

एउटै बोटका हाँगा हामी एउटै हाँगाका फूल हौ
एउटै आमाका सन्तान हामी एउटै देशका बासी हामी

केको हानाहान गर्नु केको तानातान एउटै नेपाली छोरा
देश छुट्यौ जन्मभूमी छुट्यो-छुट्यो आफ्नो साथीहरु

सपूत हौ नेपालको गौरव गर्दछौ भने यदि
लेउ प्रण आजैबाट एकै ढिक्का हौ नेपाली हामी

यही मेरो शुभकामना छ सबैलाई नयाँ सालको!

मन 
पदम विश्वकर्मा, अरोरा कोलोराडो

मन,
मान्छेहरुको मन
प्रकृति र सौन्दर्यताले पूर्ण मन
अन्तरआत्माले पूर्ण मन र
स्वविवेकले जडित मन
बिशाल हुनसक्छ।

मन नै हो,
कुण्ठाहरुमा कुण्ठित हुनसक्छ।
छालहरुमा छचल्किन सक्छ
र वतासिएको मन फेरि तरंगिन सक्छ।

मन नै हो,
अन्धकार रातको चन्द्रमा जस्तै
पूर्ण दिप्त हुनसक्छ
एकान्तको स्पर्शमा वहकिन सक्छ।

मन, मन नै हो,
स्वर्गका अप्सराहरुसँग आनन्दित हुनसक्छ।
झरना, नदी र तालहरुसँग आलिंगन हुनसक्छ
कठोर पिडाका दुखाइमा विरक्त हुनसक्छ,
र फेरि रोदनहरुमा लिप्त हुनसक्छ।

त्यसैले मन,
बिशाल जगत आत्माको भाव हो,
पिडा, कष्ट र यातनाको आहात हो
सुखद, आनन्द र प्रेमको पनि आहात हो
र मन,
सुन्दर बगैंचाका परीहरुसँगको कल्पनाको भाव हो।

माया 
कल्पना खनाल, आइडाहो स्प्रिङ्ग, कोलोराडो

माया कस्तो चिज रहेछ यो फूलमा दाँजिने यो
माया कस्तो अप्रतिमा उषा मार्गमा दौडिने यो
माया यस्तो अचम्म चिज रे जुनमा देखिने यो
माया यस्तो कोमल पनि रे गुलाबमा भेटिने
माया यस्तो निर्मल हो रे गगन झै फैलिने
माया यस्तो कंचन नि रे सागर झै गइरने
माया यो हो शिशिर नभइ बसन्तमा फक्रने
माया यस्तो मिठो आभाष हो जिन्दगीको चक्र रे

म कविता लेख्न सक्दिन
वासुदेव खनाल, आइडाहो स्प्रिङ्ग, कोलोराडो

जताततै अन्याय र अत्याचारले छाएको बेला
आफन्तहरु आफन्त भनाउँदाहरुबाटै पिडीत भएको बेला
न्याय, इमान्दारिता, अनुशासन,
मिहेनत, र सहयोगी भावनाको सट्टा
इर्ष्या, डाह, रोष, वैमनश्यताले जरो गाड्दै गरेको बेला
तिमी भन्छौ मलाई एउटा कविता लेख
यस्तो बेला, हृदयले कहाँको कोमलताको कुरा गर्नसक्छ
कहाँ भाइचाराको, अनि मित्रताको कुरा गर्न सक्छ,
म भाइमारा, देशमारा र भ्रष्टहरुलाई देख्नै सक्दिन
त्यसैले त साथी, म कविता लेख्नै सक्दिन।

जव म कविता लेख्न बस्छु, मेरो कलमले तिनै
देशमारा, भाइमारा र भ्रष्टहरुको छवि लेख्न खोज्छ,
तिनै देखावटी राष्ट्रवादको बारेमा बोल्ने
खोक्रो राष्ट्रप्रेमको कविता लेख्न खोज्छ
विभिन्न संघ, संगठन खोलेर, आँफै नेता बन्न
खोज्ने प्रव्रिती विरोध गर्न खोज्छ,
बाहिर सहयोग र राष्ट्रवाद देखाउने अनि भित्र भित्र
तानाशाह, लाद्न खोज्नेको बारेमा लेख्न खोज्छ।
जुन कुरा लेख्दा, आफू र आफ्नो परिवार सुरक्षित बन्दैन,
म त्यही कुरा लेखेर असुरक्षित बन्न चाहँदिन,
र म त्यस्ता छेपारोहरुलाई देख्नै सक्दिन,
साथी, त्यसैले म कविता लेख्नै सक्दिन।

एकपटक मैले, देशभक्तीको लागि भनेर
टनकपुरको कविता लेखे, मेची, काली र गण्डकको बारेमा
अनि चाइना साउथको बारेमा कविता लेखे।
ती देशभक्त भनाउँदाहरुले मलाई आँखाको तारो बनाए,
मैले १२ बर्षे युद्दकालमा
मृत्‍यु र मानव बिषयमा कविता लेखे
तिनीहरुले मलाई जंगल पुर्याए,
मैले, सत्य र इमान्दारिता र अन्यायको बारेमा कविता लेखे
र त म आँखाको तारो बन्दै गएँ।
मलाई ती बाठा भनाउँदाहरुले खोला तर भने
अनि म भाँचिएको लौरो समाएर कसरी खोला तर्न सक्छु
मेरो सिर्जनामा बार लगाउन मसी सिद्दिएको कलम दिन्छौ अनि भन्छौ कविता लेख।
म मसी नभएको कलमले कसरी कविता लेखुँ?
तसर्थ म छट्टु स्यालको फटाहा कुरालाई देख्नै सक्दिन
त्यसैले साथी म कविता लेख्नै सक्दिन।

गजल
वासुदेव खनाल, आइडाहो स्प्रिङ्ग, कोलोराडो

हिउँ बनी पग्लिनेछ सूर्यका ती तापहरु
कपास बनी फक्रिनेछ चट्टानका कापहरु

साहासका रथहरु हृदयका क्षितिजमा
मुक्त पंक्षी कुजो बन्ने शिकारीका पापहरु

काँडाहरुले सोच्दोहुन् फूल माथि हस्तक्षेप गर्न
आगो बन्दा फूलहरु ओकल्नेछन् रापहरु,

सदाचारी, सहयोगी, बन्दैजाउन मानवीयता
कसैमाथी नबर्सियोस खुकुरीका दापहरु        


गजल
वासुदेव खनाल, आइडाहो स्प्रिङ्ग, कोलोराडो

गर्नसक्ने केही हैन, राष्ट्रवाद गाए हुन्छ।
सक्छौ भने लुटेरा हो देशै बेची खाए हुन्छ।

किन पस्नु सिंहदरवार? रत्नपार्क गए हुन्छ।
बदाम खाँदै घाम तापी, मायाप्रिती लाए हुन्छ।

संविधान त कपीनै होला, पेष्ट गर्न बाँकी त हो।
केको वास्ता जनताको घुस खान पाए पछि।

जनताहरु पनि उस्तै घोडा बन्छन् पार्टीहरुको
माउते बन नेताहरु, जनताहरु दाय हुन्छ।

अख्तियारलाई ठीक्क पार्नु कागजमा हिसाबकिताब,
सक्छौ भने भ्रष्टाचारलाई देशैभरि छाय हुन्छ।

तिम्रो वसन्तमा सबै फूल फुल्नै पर्छ भन्ने के छ र ? 
सुशिल ताम्राकार, फिलाडेल्फिया, पेन्सलभेनिया (वाचन: राजु सिटौला)

तिम्रो वसन्तमा सबै फूल फुल्नै पर्छ भन्ने के छ र ?
नफुलेकोमा भँवरा झुल्ने भूल गर्नै पर्छ भन्ने के छ र ?

वारी न आउने कसम खाइ पारी गयौ त्यो तिम्रो खुशी
तिमीले सराप्दैमा फेरी पुल ढल्नै पर्छ भन्ने के छ र ?
तिम्रो वसन्तमा सबै फूल फुल्नै पर्छ भन्ने के छ र ?

फेरी पनि तिम्रो आगमन को गाइंगुइं म सुन्दै छु
तिम्रो स्वागतमा मैले तूल टाग्नै पर्छ भन्ने के छ र ?
तिम्रो वसन्तमा सबै फूल फुल्नै पर्छ भन्ने के छ र ?

जवानीमा निक्कै नाङ्गियौ र उदाङ्गियौ तिमी
यो उमेरमा चरित्र छोडी कूल चल्नै पर्छ भन्ने के छ र ?
तिम्रो वसन्तमा सबै फूल फुल्नै पर्छ भन्ने के छ र ?