आज नआउनु तिमी
आज मौसम धेरै खराब छ, नआउनु तिमी
ब्लिजर्डको रात सुनसान छ, नआउनु तिमी
बाहिर उठेको तुफान छ, छ मन भित्र पनि
मेरो नियत आज खराब छ, नआउनु तिमी
चंचल रातको माया हो साबुनको फोका
किन लाउँ म टुट्ने माया? बरु नआउनु तिमी
प्रेमिकाको सुरक्षण, असल प्रेमीको लक्षण
कुर्छु म, धैर्य गर्छु अहिले, पछि आउनु तिमी
घाम लाग्छ होला भोलि, सफा होला आकाश
सम्हलेला मेरो दिल पनि, अनि आउनु तिमी
साटौंला माया निर्धक्क, निष्कपट भावले
अनि भनौंला बारबार, “अब नजानु तिमी”
विजय राज शर्मा
(बाउल्डर, कोलोराडो)
१. बिश्वाशको दियो जलाएर हेर्
तिम्रो मन आफै जगमगाइ दिन्छ !!!!
अन्धकारमा पनि मुश्काएर हेर्
उज्यालोले तिमीलाई साथ दिन्छ !!!!!
२. जिवन एउटा बाटो
हामी यस्को यात्री!!!
छोटो छ जिन्दगी
कहाँ सम्म पुग्ने हो साथी!!!!
सुर्य उदाउदा निस्केको
अस्ताउदा पुग्ने होकी होईन !!!
डरै डरले हिडिरहेको छु!!!
जिन्दगीको हरेक पल यादगार होस !!
हरेक पल बनोस सबैको सच्चा साथी!!!!
नम्रता अधिकारी
(अरोरा, कोलोराडो)
समाजवादी शान्तीको प्रत्याशा
युद्दको विभिषिकाको शंखघोषलाई एउटा कलिलो शिशुको म्रिदु मुस्कान र तोतेबोलिले चुनौती दिनसक्छ,
लोकतन्त्र, राष्ट्रियता, मानवतावाद सहितको समाजवादी समुज्जल नेपालले ब्रम्हनालमा अन्तिम सास लिन खोजिरहेको मानिसको इंगित कामना र भावनाले उन्मुक्तिको प्रत्याशामा शायद ॐ शान्ती, ॐ शान्ती जपिरहेको होस्,
त्यसैले स्वयमभूको बोधिसत्वरुपी दुइटा आँखाले हरक्षण परेवाहरुको ताँती उडेको देख्न पाउनुपर्छ।
भरिया दाईको दिनभरीको थकानपछी एउटा छहरामुनी नै किन नहोस् विश्राम गर्न र गुन्द्रुक-ढिडो कुप्लुक्क गर्न पाउँनुपर्छ,
पल्ला घरकी सानी भाउजुको लामो प्रतिक्षापछी लाहुरबाट फर्कने दाइसँग मधुर मिलन हुन सक्नुपर्छ,
शान्ती सृष्टी र सभ्यता हो, सिर्जना बिकास हो शान्ती हो, शान्तीको सन्देश हो;
सबैतिर फैलियोस्; यो सिर्जनाको कलम अनन्तसम्म मौलाउन फुल्न र फक्रिन पाउँनुपर्छ;
त्यसैले स्वयमभूको बोधिसत्वरुपी दुइटा आँखाले हरक्षण परेवाहरुको ताँती उडेको देख्न पाउनुपर्छ।
हिमाली भेगमा लु लाग्दैन, कहिले नलागोस् पनि,
त्यहाँ मृत्युसंजीवनी लतिकाहरुलाई हुर्कन, कस्तुरीलाई उफ्रन, भोटे दाईलाई भोटे सेलो गाउन र यतिलाई रम्न दिनुपर्छ;
पहाड र मधेशतर्फ कहालीलाग्दो बारुदी आवाज कहिल्यै नघन्कियोस्,
अव त्यहाँ त डमरू, घण्टा र प्रकृतिमय आवाजहरु संचारित हुन पाउनुपर्छ;
त्यसैले स्वयमभूको बोधिसत्वरुपी दुइटा आँखाले हरक्षण 'शान्तीको प्रतिक' परेवाहरुको ताँती उडेको देख्न पाउनुपर्छ।
कुमार जंग कार्की
(ओखलढुंगा, नेपाल
हाल: डेन्भर कोलोराडो)
म आकाश
म आकाश,
आकाशजस्तै निर्मल छु, निश्चल छु
र निष्कंलक छु।
निर्मल आकाशमुनी
क्षणिक बादलको घुम्टो लाग्दा,
हुरी आइ उडाइदिन्छ फेरी निर्मल बन्छ
त्यसैले आकाश निर्मल छ।
विना छल्कपट, जगत समेटी रहेछ अनन्त
न स्वार्थ छ, न लोभ छ
छ केवल जगतको भलो
त्यसैले आकाश निश्चल छ।
न कसैले रोक्न सक्छ, न कसैले छेक्न,
छोड सबै नाटकहरु
संसार अविरल चलिरहन्छ
किनकी आकाश निष्कंलक छ।
त्यसैले निर्मल आकाशलाई धमिल्याउने प्रयत्न नगर,
निश्चल आकाशलाई डगमगाउन नखोज,
निष्कलंक आकाशलाई कलंक लागाउने चेष्टा नगर
किनकी आकाश अविरल छ, अथाह छ र अनन्त छ।
पदम विश्वकर्मा
(अरोरा, कोलोराडो)
कविता
अमेरिकामा बसी कान्तिपुर टिभी हेरिरहेथे
नेपाल आमाको सुन्दर मुस्कान हेरौंली सोचिरहेथें
यसपालिको बजेट भाषणमा - २
नेपालको कानून निरिह देखें
नेपालको छाती चिरिंदै थियो
तीन करोड नेपालीकी आमा धरधरी रोएको देखे-२
कानूनलाई मिच्ने निर्लज्जहरु फोन गरिरहेथे - २
नेपाललाई पिडा दिने पापीहरु हाँसी रहेथे
आफ्नै आमाको मासु लुछाचुँडी गरेको देखें
तीन करोड नेपालीकी आमा धरधरी रोएको देखे-२
प्रमिला शर्मा
(बाउल्डर, कोलोराडो)
मानिसको जात!
सुम्पिई आफैलाई मेरो भरमा
थमाएकी थियौ तिम्रा ती हात।
चाहेकी थियौ त केवल यति
जीवनभर नछुट्ने मेरो नै साथ।
तास भई ढले सपना तिम्रा,
रुँदै बित्ने भए हरेक रात।
गौरव गर्थ्यौ प्रेममा हाम्रो,
आखिरमा हुनुरहेछ यो घात।
चटक्क साईनो चुडाँइ दिए,
उतारी फेके ती नजरका मात।
सोसेर लिए हरियाली तिम्रो
बनाए छोडे झरेको पात।
तस्बिर मेरै च्यापेर साथमा,
कति पिडा पोख्छौ? कति गर्छौ बात?
मनमा सजाउन योग्य छैन,
मानिस भन्ने स्वार्थी यो जात।
राजु सिटौला
(गोल्डन, कोलोराडो)
Congratulations to INLS-Colorado for starting blog.
ReplyDeleteIts indeed very good start for all the "Nepali Sahitya Premi". Now, people can read all the "Nepali Sahitya" related things and share their feelings.
Cheers!!!
Bhishma
प्रतिकृयाको लागि धन्यवाद भिष्म दाई,
ReplyDeleteयहाँहरु सबैको सुझाव, सहयोग र सहभागितामा नेपाली साहित्य र भाषाको क्षेत्रमा थोरै भए पनि योगदान गर्न सफल हुनेछौ भन्ने आशा गर्दछौ।